Slider

कांग्रेसको कोइराला गुटमा यस्तो पाक्दै ! शेखरलाई सभापति र गगनलाई महामन्त्री !! 

काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेसमा विधान मस्यौदा समितिले ‘प्रस्तावित विधानको मस्यौदा’ केन्द्रिय समितिमा पेश गरेपछि, त्यो मस्यौदालाई आफु अनुकुलको बनाउने प्रयास सुरु भएको छ ।

त्यसका लागि संस्थापन र नेता रामचन्द्र पौडेल पक्षका नेताहरु आ-आफ्नो गुटगत बैठक बसिरहेका छन् । पौडेल पक्षका नेताहरुको बैठक मंगलबार सुजाता कोइराला निवास मण्डिकाटारमा र बुधबार महामन्त्री डा शशाङ्क कोइराला निवास टोखामा बस्यो ।

दुबै छलफलमा विधानलाई कसरी १४ औं महाधिवेशनमा आफ्नो गुट अनुकुल बनाउने भन्ने विषयमा कुराकानी भएको बैठकका एक सहभागिले बताए ।

त्यतिमात्र होइन आफ्नो पक्षको गुटको नेतृत्व गरेका पौडेल सहभागि नभएको बैठकले १४ औं महाधिवेशनमा पौडेललाई होइन, कोइराला परिवारबाट सभापतिमा उम्मेदवार बनाएर अगाडि बढ्नेमा अनुकुलको नतिजा आउन सक्ने भन्ने निष्कर्ष समेत निकालेको छ ।

नेपाली कांग्रेसमा कोइराला परिवारको वीकरण सुरु गरेका अहिलेको केन्द्रिय समितिमा रहेका तीन कोइरालाले आगामी महाधिवेशनका लागि पदाधिकारीको टुंगो लगाउने तयारी पनि छलफलसंगै गरिरहेका छन् ।

स्रोतका अनुसार आगामी महाधिवेशनमा सभापतिमा डा. शेखर कोइराला, र महामन्त्रीमा गगन थापालाई उम्मेदवार बनाउने निकर्षमा पनि उनीहरु पुगेका छन् ।

महिला उपसभापतिमा सुजाता कोइराला, उपसभापतिहरूमा डा. शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महतलाई उभ्याउने सहमति पनि उनीहरुबीच भइसकेको त्यहाँ सहभागि एक नेताले बताए ।

कोइराला कित्तामा उभिएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रपतिको उम्मेदवार र दुई बर्षका लागि रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउने विषयमा आधार विन्दुको खोजी भइरहेको पनि एक नेताले बताए ।

त्यसका लागि सभापति शेरबहादुर देउवाइतरका नेतालाई गुटमा राखेर कांग्रेसभित्र महासमितिमा पनि बहुमत र केन्द्रीय समितिमा पनि बहुमत कायम गर्ने तयारीमा कोइराला परिवार लागिरहेका छन् ।

देउवालाई संसदीय दलको नेताको निर्वाचनमा सहयोग गरेका महामन्त्री डा.संशाक पनि यतिवेला देउवाबिरोधी गुटमा देखिएका छन् ।

२६ कात्तिकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र डा. रामशरण महतलाई सुजाता कोइरालाले मण्डिखाटारस्थित आफ्नै निवासमा दिवा भोज दिएकी थिइन् ।

त्यहि बेलाको छलफलको निरन्तरता दिन मंगलबार पनि सुजाता निवासमा कांग्रेसभित्रको प्रतिपक्षलाई बलियो बनाउने छलफल चलेको छ । ६ मंसिरमा सुजाताले युवा नेता गगनकुमार थापालाई बोलाएर दिवा भोज दिएकी थिइन् ।

पाँच दशक लामो राजनीति गरेर आएका रामचन्द्र पौडेल, चार दशक लामो राजनीति गरेका डा. रामशरण महत, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायतलाई छाँयामा पर्दै दुई दशकअघि मात्र कांग्रेसका क्रियाशिल सदस्यता लिएकी सुजाता कोइरालाले समन्वय, सहकार्य र एकताको लागि संयोजकको भूमिका खेलेको घटना अचम्मको छ ।

तर, गिरीजाप्रसाद कोइरालाको विरासतलाई उठाउनका लागि सुजाता सक्रिय भएको बताइन्छ । कोइराला परिवारसँग कहिले पनि नजिक नभएका गगन थापाचाहीँ उक्त क्याम्पमा छिर्नु अचम्म मानिएको छ ।

गगनको कोइराला कित्ता प्रवेशले १३ औं महाधिवेशनमा सभापति देउवालाई सघाएका सिटौला कमजोर हुनसक्ने अनुमान गरिएको छ ।

सोही सहयोगवापत गगनलाई देउवाले कांग्रेसको प्रवक्ता दिने सहमति गरेका थिए । तर, बीचमा उनले सिटौला कित्तालाई कमजोर बनाउन विश्वप्रकाश शर्मालाई उक्त पद दिएपछि गगन रुष्ट थिए । त्यसैको बदला लिनका लागि पनि सभापति देउवाइतरको बलियो बनिरहेको कोइराला क्याम्पमा गगनको प्रवेश भएको बताइन्छ । 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने